राजधानीका अस्पतालबाट समातिए २० जना विदेशी
काठमाडौं: नेपाल मेडिकल काउन्सिलको अनुमति नलिई राजधानीका विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत कम्तिमा २० जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
राजधानीका विभिन्न अस्पतालमा अवैध रुपमा चिकित्सकको काम गरिरहेका २० जना विदेशी नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लेज जानकारी दिएको छ ।
'नेपाल मेडिकल काउन्सिलको अनुमति बिना नै नेपालमा विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत विदेशी नागरकिलाई हिरासतमा लिएका छौँ', सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले अन्नपूर्ण अनलाइनसँग भने, 'उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा बताउन मिल्दैन, केही दिनमै यसको विस्तृत विवरण बाहिर ल्याउँछौँ ।'
सीआईबीका अनुसार ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पतालबाट अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरिएको हो । सीआईबीले नेपाल मेडिकल काउन्सिलसँगको समन्यवमा छापा हानेर ती विदेशीलाई पक्राउ गरिएको हो ।
अहिले अनुसन्धान भइरहेकाले ती विदेशको नाम सार्वजनिक गर्न नमिल्ने डीआईजी कार्कीले बताए । प्रहरीका अनुसार पक्राउ परेका सबै विदेशी नागरिकले मेडिकल काउन्सिलको अनुमति नलिई चिकित्सकका रुपमा काम गरेका थिए ।
सीआईबीको प्राराम्भीक अनुसन्धानमा ती विदेशी नागरिकले चिकित्सकका रुपमा काम गर्न निश्चित शैक्षिक मापदण्ड पनि पुरा नगरेको पाइएको छ । तर यसको सबै विवरण अनुसन्धानमा केही दिन लाग्ने भएकाले खुलाउन नसकिने सीआईबीले जनाएको छ ।
No comments